Wednesday, December 28, 2011

निर्मातालाई हिरोइनको क्षतिपूर्ति एक रुपैयाँ

     अभिनेत्री निशा अधिकारीले निर्देशक सुरेशदर्पण पोखरेललाई क्षतिपूर्ति स्वरूप एक रुपैयाँ तिरेकी छिन्। उनले सुरेशलाई फिल्म 'थ्री लभर्स्'मा अभिनय गर्ने भनी लिएको एडभान्स ५५ हजार रुपैयाँसहित उक्त क्षतिपूर्ति मंगलबार बुझाएकी हुन्।

एडभान्स लिएर पनि फिल्म खेल्न समय ननिकालेको भन्दै सुरेशले चलचित्र निर्माता संघमा निशाविरुद्ध क्षतिपूर्ति पनि दावी गर्दै गत शुक्रबार उजुरी गरेका थिए। निशाले मंगलबार निर्माता संघको कार्यालय पुगेर संघका महासचिव केशव भट्टराईको रोहबरमा सुरेशलाई रकम फिर्ता दिएकी हुन्।
 क्षतिपूर्ति तिरेकोमा निर्देशक सुरेशले प्रसन्नता व्यक्त गरे। उनले उक्त एक रुपैयाँ कुनै संस्थालाई चन्दा दिने पनि बताए। क्षतिपूर्ति दिनु भनेको निशाले आफ्नो गल्ती स्विकार्नु हो भन्ने उनको बुझाइ छ।
पहिले तिहारताका सुटिङ हुने भनिएकोमा पछि पटकपटक ढिलाइ भएपछि आफू 'मिसन पैसा रिलोडेड'मा व्यस्त हुनु परेको स्पष्टिकरण निशाको छ। फिल्म खेल्न नभ्याएपछि आफूले पैसा फिर्ता दिन खोजेको तर तालमेल नमिलेको उनी बताउँछिन्।
मंगलबारको सहमति प्रक्रियापछि संघका महासचिव केशव भट्टराईले भने, 'निशा पैसा दिन तयार भए पनि सुरेशले आफ्नो फिल्ममा खेलाउन नसकेको पीडा पोख्दा यो सब घटनाक्रम भएको हो।' निर्देशक सुरेश पनि संघका सचिव हुन्।
अमेरिकामा केही महिना फिल्ममेकिङ पढेर आएकी निशाले सुरुवातका दिनमा सुरेशको 'थ्री लभर्स्'मा क्रियटिभ डाइरेक्टरको रूपमा समेट काम गरेकी थिइन्। निशाको समय जुधेपछि 'मिसन पैसा'का निर्देशक सिमोस सुनुवार र अभिनेत्री निशाको समझदारीमै सुरेशले अभिनेत्री प्रियंका कार्कीलाई 'थ्री लभर्स'मा लिएका थिए।
कुनै पनि फिल्म खेल्नुअघि निर्देशक र निर्माताको बारेमा राम्ररी बुझ्नुपर्ने पाठ आफूले सिकेको निशाले सुनाइन्। अहिले निशा 'मिसन पैसा' र सुरेश 'थ्री लभर्स्'को सुटिङमा व्यस्त छन्।

No comments:

Post a Comment