Friday, December 30, 2011

ऋचा पनि गर्भवती / अब नायिकाहरुको अभाव





         नायिका ऋचा घिमिरे पनि अब आमा बन्ने भएकी छिन्। उनी ६ महिनापछि आमा हुने भएकी छिन्। उनी ३ महिनाकी गर्भवती छिन् र डा. ज्योति शर्मासँग नियमित स्वास्थ्यपरीक्षण गराइरहेकी छिन्। नायिकाहरु मेलिना मानन्धर संचिता लुइँटेल अरुणिमा लम्साल आमा भएर बालबच्चाको स्याहारसुसार गरेर बसिरहेका बेला ऋचा पनि आमा बन्ने भएपछि नेपाली चलचित्र क्षेत्रमै नायिकाहरुको अभाव हुने भएको छ।
 'अहिले नेपाली फिल्महरु पनि राम्ररी चलिरहेका छैनन्’ २ वर्षअगाडि निर्देशक शंकर घिमिरेसँग विवाह गरेकी काली नायिकाले नेपाल समाचारपत्रसँग भनिन्- 'फिल्म नचलिरहेका बेला हामी नायिकाहरु आमा हुँदा हामीले पनि ब्रेक पाउँछौं फिल्म लाइनलाई पनि ब्रेक नै हुन्छ।’ ऋचा आपुनो गर्भ चार महिनाको नभएसम्म प्रेगनेन्सीको खबर डिस्क्लोज नगर्ने पक्षमा थिइन्। त्यसैले उनले आपुना थोरै साथीसंगी र पारिवारिक नातेदारलाई मात्र यो 'खुसीको समाचार’ सुनाएकी थिइन्। र पनि नायिकाहरुको मातृत्वको अनुभवका बारेमा प्रकाशित सामग्रीका लागि वार्ताका क्रममा नेपाल समाचारपत्रसँग केहीअगाडि उनले हिन्ट्स दिएकी थिइन्- '३० वर्षको उमेरभित्र सबै कुराका हिसाबले सेटल भइसक्नेछु।’ धेरैले ऋचालाई यति चाँडै आमा बन्न किन हतार पनि भनेछन्। 'दिस इज द राइट टाइम’ उनको चाहिँ भनाइ छ- 'म करियरका लागि भनेर फेमिली लाइफ नै त्याग्ने केटी पनि होइन मैले मागेको पूरा भयो म खुसी छु।’ उनी गर्भवती अवस्थासम्म पनि चलचित्रको काम भने गर्न नछोड्ने धुनमा छिन्। 'पर्दामा आएर अभिनय नगरौंला अर्कै कुरा हो तर पर्दापछाडिको काम धेरै गर्न सकिन्छ। बलिउडमा काजोल जुही चावला प्रेगनेन्ट हुँदा उनीहरुका लागि छुट्टै स्क्रिप्ट लेखेर प्रेगनेन्ट वुमनकै रुपमा खेलाइएको थियो। यहाँ के हुन्छ थाहा छैन तर म शारीरिक अवस्थाले साथ दिएसम्म काम गरिरहन्छु।’ तीन महिनाको गर्भावस्थामा पनि उनको स्वास्थ्यावस्था भने सामान्य छ। 'हेल्थ नर्मल छ यही अवस्थामा चाइना र हङकङसमेत पुगेर आएँ’ ऋचालाई रहर रहेछ- 'पहिलो सन्तान छोरी भइदिए हुन्थ्यो भन्ने लागेको छ उसको रुप रंग कर्ली कपाल आँखा सबै मेरैजस्तो होस् भन्ने लागेको छ। शंकरचाहिँ छोरा चाहनुहुन्छजस्तो लाग्छ। तर छोरा र छोरी जे भए पनि फरकचाहिँ पर्दैन।’

राजधानीमा "भनिदेऊ न माया गर्छु" र मन "परेपछी"


यो साता राजधानीमा दुई चलचित्र प्रदर्शनमा आउने भएका छन्। नवनिर्देशक रमेश पोखरेलद्वारा निर्देशित भनिदेऊ न माया गर्छु र सुमन दाहालद्वारा निर्देशित मन परेपछि राजधानीका हलहरुमा प्रदर्शनमा आउन लागेका हुन्।


भनिदेऊ न माया गर्छु नयाँ चलचित्रका रुपमा प्रदर्शनमा आउन लागेको हो भने मन परेपछि मोफसलपश्चात् उपत्यकाका हलमा आउन लागेको हो। राजेश हमालका साथमा नयाँ अनुहार लता योंजनले डेब्यु गरेको भनिदेऊ न माया गर्छु जेबी घिसिङको निर्माणमा तयार भएको छ। क्यापिटल फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रमा कथा पटकथा र संवाद अच्युत अधिकारीको रहेको छ। त्यसै गरी गीत निर्देशक पोखरेल अर्जुन पोखरेल र शान्तिप्रिय संगीत अर्जुन पोखरेल नृत्य शिव र अजय स्याङ्ताङ द्वन्द्व शंकर महर्जन छायांकन रामेश्वर जिरेलको रहेको छ।
प्रेमकथामा आधारित चलचित्रमा दिलीप रायमाझी, सुरज आरडी, नन्दिता केसी, जेबी घिसि,ङ पुरुषोत्तम थापा, रमेश पोखरेल तथा अर्का नयाँ प्रस्तुति प्रभाकर श्रेष्ठ पनि प्रमुख कलाकार रहेका छन्। उपत्यकाबाहिरको प्रदर्शनपछि प्रेमकथामा आधारित चलचित्र मन परेपछि शुक्रबारबाट उपत्यकाका हलमा रिलिज हुन लागेको हो। ओम् नमः फिल्म्सको ब्यानरमा दीपक रमणले निर्माण गरेको चलचित्रमा निखिल उप्रेती, रमित ढुंगाना, कल्पना शाही, दिनेश डीसी, दिव्येश्वर गौतम, विनीता घिमिरेलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्। चलचित्रमा रवि अर्यालको कथा ध्रुव लम्सालको पटकथा तथा संवाद दिव्य घिमिरेको छायांकन छ। दाहालले यसअघि जीवन-मृत्यु अल्पविराम इलाका पाइला मान्छेको माया हलचल तथा पागलपनजस्ता चलचित्रमा मुख्य सहायक निर्देशकका रुपमा काम गरिसकेका छन्। राजेशपायल राई, अंजु पन्त, माण्डवी त्रिपाठी, जगदीश समाललगायतका गायक-गायिकाको पाश्र्वगायन रहेको चलचित्रमा निर्माता रमणकै संगीत छ।

चन्द्रावती पनि "एडल्ट"


प्रदर्शनको तयारीमा रहेको चलचित्र 'चन्द्रावती' लाई चलचित्र सेन्सर बोर्डले वयष्क चलचित्रको प्रमाणपत्र दिएको छ। निर्माता सञ्जय बुलुङको यो पहिलो चलचित्रको निर्देशन राजु गिरीले गरेका हुन। यो चलचित्रमा राजेश हमाल, युना उप्रेती, आयुश रिजाल, शशि खड्का, कुशल थापा, एलिजा रिजाल आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन्। काठमाडौँ, पोखरा, बन्दिपुर आदि थानमा छायांकन गरिएको चलचित्र चन्द्रावतीमा शिव शर्माको नृत्य तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने अर्जुन खड्काले चलचित्रमा संगीत दिएका छन्। चलचित्रका केही यौनजन्य तथा हिंसात्मक दृश्य वयष्कहरूका लागि मात्र उपयुक्त भएकाले सेन्सर बोर्डले यसलाई 'एडल्ट' प्रमाणपत्र दिएको बताइन्छ। अब यो चलचित्र १६ वषभन्दा कम उमेरका दर्शकले हेर्न पाउने छैनन्।

"लूट" र "चपली हाइट" एकै ठाउमा !!


    प्रदर्शनको तयारीमा रहेका दुई नयाँ चलचित्र 'लूट' तथा 'चपलीहाइट' को गीतिसंग्रह एउटै समारोहमा सार्वजनिक भएको छ । बुधबार  काठमाडौँमा आयोजित एक समारोहमा दुवै चलचित्रका गीतिसंग्रह सार्वजनिक गरिएको हो । 'लुट' आगामी पुस २९ गतेदेखि प्रदर्शन हुँदैछ भने  'चपलीहाइट' को प्रदर्शन आगामी फागुन महिनामा गरिंदैछ ।

   'लुट' मा नयाँ संगीतकार रोशन थापाको संगीत छ भने 'चपली हाइट' का संगीतकार अर्जुन कुमार हुन् । गीतिसंग्रह सार्वजनिक समारोहमा  दुवै चलचित्रका प्रमुख कलाकारहरू उपस्थित थिए ।

आशा छ "द गेम" लाई


    अघिल्लो साता काठमाडौंमा मात्र प्रदर्शन गरिएको 'द युगदेखि युगसम्म' को व्यापार आन्दोलन तथा बन्दका कारण बिगि्रए पनि आज  शुक्रबारदेखि देशव्यापी प्रदर्शन हुने नेपाली चलचित्र 'द गेम' का निर्माताहरू भने उत्साहित छन् । महिला निर्देशकका रूपमा चर्चामा आएकी  रक्षासिंह राणाद्वारा निर्देशित यो चलचित्रको सम्पादन पनि उनैले गरेकी हुन् । चलचित्रमा सुमन सिंह, निरुता सिंह, झरना थापा, बालनरसिंह  राणा आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । दुई साताअघि नै गीतिसंग्रह सार्वजनिक गरेका प्रचारप्रसारमा उत्रिएको 'द गेम' मा  नायक सुमन सिंह पहिलो पटक भिन्न गेटअपमा प्रस्तुत भएका छन् । चलचित्रमा नायिका झरना थापा प्रहरीको भूमिकामा छिन् ।  मानिसले  आफनो व्यक्तिगत स्वार्थका लागि के, कस्तो र कतिसम्म गेम खेल्न सक्छ भन्ने मुख्य विषयवस्तुमा आधारित यो चलचित्रमा आलोकश्रीको  संगीत निर्देशन  छ । यसअघिका अधिकांश चलचित्रमा साधारण युवती तथा दुःख पाउने बुहारीको भूमिकामा देखिंदै आएकी नायिका निरुता  सिंह यो चलचित्रमा सहरिया युवतीका रूपमा प्रस्तुत भएकी छिन् । उनलाई ग्ल्यामरस युवतीका रूपमा उभ्याइएको छ । नयाँ गेटअपमा  प्रस्तुत भएकी निरुतालाई द्वन्द्वका दृश्यमा समेत अभिनय गराइएको छ । यही चलचित्रमार्फत वास्तविक जीवनमा प्रहरी सेवामा रहेका  बालनरसिंह राणाले नायकका रूपमा डेब्यू गरेका छन् । राजुविक्रम थापाले छायांकन गरेको यो चलचित्रमा एनबी महर्जनको द्वन्द निर्देशन छ ।  चलचित्रका पाँचवटा गीतमा उदितनारायण झा, मल्लिका कार्की, रूपक डोटेल, धर्मेन्द्र सेवान आदिको पाश्र्व गायन छ ।

बिहे गर्ने सोचमा भुवन


     फरकफरक समयमा दुईपटक बिहे गरेका अभिनेता भुवन केसीलाई अहिलेको एक्लो जीवन विरक्त लाग्न थालेको छ। ‘दाम्पत्य जीवनमा स्थायीत्व खोजेकै हुँ नि,' बिहीबार नेपालगन्जमा उनले भने, 'के गर्नु, धोका खाइयो। कर्ममा यस्तै लेख्या हो कि?' विजया र सुस्मितासँग निकै दुःखसुख साटे पनि सम्बन्ध सुमधुर हुन नसकेको र आफ्नो कुनै गल्ती नभएको भुवनले बताए।   करिब एक महिनाअघि जेठी छोरी काजोलको बिहे गरिदिएर ससुरा बनेका भुवन तेस्रोपटक दुलाहा बन्ने मुडमा छन्। नेपालगन्जको सिद्धार्थ कटेजमा सञ्चारकर्मीसँगको भेटघाटमा उनले भने, ‘लामो समय एक्लै बस्न सकिँदैन होला। बिहे गर्न सक्छु। भाग्यको खेल के हुन्छ हेरौं।'
    कैलाली महोत्सव जान बिहीबार नेपालगन्जमा विश्राम लिएका भुवनले आफू अझै तन्नेरी भएको तर्क दिए। बाजा बजाएर बिहे गरेकी विजया अमेरिकामा लामो समय बसेपछि सुस्मितासँग सम्बन्ध गाँसेको बताए। तर, समयको खेलले गर्दा सुष्मिता र विजया दुवै अहिले साथीमा सीमित भएको उनले बताए। 

    अब बिहे गर्ने बेला निकै सोचविचार गर्ने भन्दै उनले योजना खुलाए, ‘मेरो जीवन चलाउने रिमोट कन्ट्रोल चाहिँ मेरै हातमा छ। छोरा, फ्यान र फिल्म उद्योगको हितलाई ध्यानमा राखेर पाइला चाल्छु।'

    केटीसँग जोडिएका स्क्यान्डलको प्रसंग उठ्दा उनले आफू ३२ लक्षणले युक्त नभएको बताए। केही स्क्यान्डल आंशिक सत्य भएको स्विकार्दै उनले थपे, ‘धेरैजसो चाहिँ अलि बढाइचढाइँ गरिएका छन्।'

    नयाँ फिल्म रिलिजका बेला नयाँनयाँ स्टन्ट गर्ने भुवन पाँचौं फिल्म 'साथी म तिम्रो' फिल्मको प्रवर्द्धनमा व्यापक लागेका छन्। उनले भने, ‘फिल्म चल्ने बेला मेरो अलि चर्चा हुन्छ। चर्चाका लागि स्क्यान्डल चाहिँ गरिँदैन।' यो फिल्ममा उनले सुष्मिताबाट जन्मेका छोरा अनमोललाई खेलाएका छन्। 

    'फिल्म हेर्न दर्शकले रुमाल लिएर हलभित्र पस्नु पर्ने छ। मेरो जीवनको करिब ६० प्रतिशत अंश यसको कथासँग मिल्छ,' उनले दावी गरे। फिल्ममा रेखा थापा, ऋचा घिमिरे लगायतको अभिनय छ। यो फिल्म हिट नभए आफूले फिल्ममा लगानी नगर्ने उनले घुर्की देखाए।

Wednesday, December 28, 2011

तीन दिनमा 'डन'लाई नेपालबाट २९ लाख


     शाहरुख खान अभिनित फिल्म 'डन २'ले नेपालमा रिलिजको पहिलो तीन दिनमै १८ लाख भारतीय रुपैयाँ कमाएको छ। फिल्मले शुक्रबार र शनिबार ५/५ लाख र आइबार ८ लाख भारु व्यापार गरेको भारतीय अनलाइन 'बलिउड हंगामा'ले जनाएको छ। भारतका विभिन्न सहरका साथै नेपालको बक्स अफिस बलिउड फिल्म समीक्षक तरण आदर्शले उल्लेख गरेका हुन्। 

 उनको हिसाबअनुसार तीन दिनमा 'डन'ले नेपालबाट लगभग २९ लाख नेपाली रुपैयाँ बटुलेको छ।

फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टका म्यानेजर वसन्त मानन्धर भने यो तथ्याङ्कसँग सहमत छैनन्। 'यो डाटा के आधारमा उल्लेख गरिएको हो थाहा छैन,' उनले भने, 'फिल्मले अरूले भन्दा राम्रो व्यापार गरेको त हो। तर, त्यति धेरै होइन।'

'खास व्यापार कति हो त?' उनले सबैतिरको हिसाब नजोडी बताउन नसक्ने बताए। क्रिसमसमा रिलिज भएकोले पनि व्यापार राम्रो भएको हुनसक्ने उनको अनुमान छ। काठमाडौंका सबै मल्टिप्लेक्स र राजधानी बाहिरका प्रमुख सहरमा फिल्म रिलिज भएको उनले जानकारी दिए। राम्रो चलेको भारतीय फिल्मले नेपालमा ५० लाखसम्मको व्यापार गर्ने उनको हिसाब छ।

नेपाली फिल्म वितरक सुनिल मानन्धरलाई 'डन २'को व्यापारले चकित तुल्याएको छ। उनी भने यो फिल्मले तीन दिनमा ३० लाख व्यापार गरेको अनुमान लगाउँछन्। पुस महिनामा फिल्मले राम्रो व्यापार गर्र्दैन भन्दै पछि हट्ने निर्माता देखेका सुनीलले भने, 'फिल्म राम्रो भए पुसले के बिगार्दो रहेछ र? समयलाई दोस दिन छोडी फिल्म राम्रो बनाउन थाल्नु पर्‍यो।'

निर्मातालाई हिरोइनको क्षतिपूर्ति एक रुपैयाँ

     अभिनेत्री निशा अधिकारीले निर्देशक सुरेशदर्पण पोखरेललाई क्षतिपूर्ति स्वरूप एक रुपैयाँ तिरेकी छिन्। उनले सुरेशलाई फिल्म 'थ्री लभर्स्'मा अभिनय गर्ने भनी लिएको एडभान्स ५५ हजार रुपैयाँसहित उक्त क्षतिपूर्ति मंगलबार बुझाएकी हुन्।

एडभान्स लिएर पनि फिल्म खेल्न समय ननिकालेको भन्दै सुरेशले चलचित्र निर्माता संघमा निशाविरुद्ध क्षतिपूर्ति पनि दावी गर्दै गत शुक्रबार उजुरी गरेका थिए। निशाले मंगलबार निर्माता संघको कार्यालय पुगेर संघका महासचिव केशव भट्टराईको रोहबरमा सुरेशलाई रकम फिर्ता दिएकी हुन्।
 क्षतिपूर्ति तिरेकोमा निर्देशक सुरेशले प्रसन्नता व्यक्त गरे। उनले उक्त एक रुपैयाँ कुनै संस्थालाई चन्दा दिने पनि बताए। क्षतिपूर्ति दिनु भनेको निशाले आफ्नो गल्ती स्विकार्नु हो भन्ने उनको बुझाइ छ।
पहिले तिहारताका सुटिङ हुने भनिएकोमा पछि पटकपटक ढिलाइ भएपछि आफू 'मिसन पैसा रिलोडेड'मा व्यस्त हुनु परेको स्पष्टिकरण निशाको छ। फिल्म खेल्न नभ्याएपछि आफूले पैसा फिर्ता दिन खोजेको तर तालमेल नमिलेको उनी बताउँछिन्।
मंगलबारको सहमति प्रक्रियापछि संघका महासचिव केशव भट्टराईले भने, 'निशा पैसा दिन तयार भए पनि सुरेशले आफ्नो फिल्ममा खेलाउन नसकेको पीडा पोख्दा यो सब घटनाक्रम भएको हो।' निर्देशक सुरेश पनि संघका सचिव हुन्।
अमेरिकामा केही महिना फिल्ममेकिङ पढेर आएकी निशाले सुरुवातका दिनमा सुरेशको 'थ्री लभर्स्'मा क्रियटिभ डाइरेक्टरको रूपमा समेट काम गरेकी थिइन्। निशाको समय जुधेपछि 'मिसन पैसा'का निर्देशक सिमोस सुनुवार र अभिनेत्री निशाको समझदारीमै सुरेशले अभिनेत्री प्रियंका कार्कीलाई 'थ्री लभर्स'मा लिएका थिए।
कुनै पनि फिल्म खेल्नुअघि निर्देशक र निर्माताको बारेमा राम्ररी बुझ्नुपर्ने पाठ आफूले सिकेको निशाले सुनाइन्। अहिले निशा 'मिसन पैसा' र सुरेश 'थ्री लभर्स्'को सुटिङमा व्यस्त छन्।