Wednesday, February 1, 2012

लुट को कमाइ डेड करोड

रिलिजको तेस्रो हप्ता पनि 'लुट'को कमाइ ओरालो लागेको छैन। नेपाली फिल्म खासै नलाग्ने र लागे पनि धेरै दिन नटिक्ने क्युएफएक्स नेटवर्कका हलहरुमा यो फिल्मले बिहीबार रिलिज भएको हिन्दी फिल्म 'अग्नीपथ'लाई सजिलै उछिनेको छ।
काठमाडौंमा क्युएफएक्स नेटवर्कका सेन्ट्रल (सिभिल), कुमारी र जयनेपाल गरी तीन सिनेमाभवन छन्। सेन्ट्रलमा तीन, कुमारीमा दुई र जयनेपालमा एक हल छन्। यो नेटवर्कमा शनिबार 'अग्नीपथ'को चार शो थियो भने 'लुट'को आठ।
यसले राजधानीका अरु मल्टिप्लेक्स हलमा पनि राम्रो व्यापार गरिरहेको निर्माता नरेन्द्र महर्जनले जानकारी दिए। 'आइतबारसम्मको कारोबार जोड्दा काठमाडौंको कुल संकलन एक करोड रुपैयाँ कटेको छ। सबै भन्दा धेरै क्युएफएक्सबाट उठेको हो,' उनले भने। शुक्रबार 'अग्नीपथ'को व्यापार केही माथि थियो तर शनिबारदेखि खस्किएको छ।

क्युएफएक्सबाटै 'लुट'ले लगानी उठाएको निर्माताको हिसाब छ। फिल्म बनाउन ५४ लाख रुपैयाँ खर्च भएको निर्माता माधव वाग्ले बताउँछन्। तर, धेरैले चाहिँ यसमा ३० देखि ४० लाखमात्र खर्च भएको अनुमान लगाएका छन्।

यसअघि २०५७ सालमा 'दर्पणछायाँ'ले काठमाडौंको विश्वज्योति हलबाट आफ्नो लगानी उठाएको थियो। तुलसी घिमिरेको फिल्मको लगानी २२ लाखको थियो।

शुक्रबार नयाँ नेपाली फिल्म रिलिज भएकाले चाबहिलको गोपीकृष्णले सानो हलमा 'लुट'लाई खसाले पनि आइतबार ठूलो हलमा फर्काइएको निर्माता महर्जनले बताए। फिल्मको रफ्तार उस्तै रहेको उनी दाबी गर्छन्।

आफ्नो हलमा कहिल्यै नदेखिने वर्गका दर्शक उर्लेपछि बालाजुको गंगा हलका सञ्चालक मदनमान बज्राचार्य आश्चर्यचकित छन्। भर्खरै 'टु इन वन'मा रूपान्तरण भएको गंगाको एउटा हलमा 'लुट' लागेपछि दोस्रो हलमा दुइटा फिल्म बदलिसकेको छ।

फिल्मले नेपालको पूर्वीभन्दा पश्चिमी भेगमा बढी कमाएको रिपोर्ट निर्माताको छ। 'हेटौंडादेखि पश्चिमका हलबाट ३० लाख उठिसक्यो। नेपाली फिल्म नचलाउने कतिपय हलले फिल्म मागेका छन्,' बिर्तामोडमा फिल्म रिलिज गर्न बाँकी रहेको जानकारी दिँदै उनले भने, 'पूर्वको संकलन अहिलेसम्म २० लाखको हाराहारीमा छ।'

नेपाली फिल्म हेर्न छोडेका दर्शकले रुचाएको देख्दा उनी निकै उत्साहित छन्। फिल्म वितरणमा लामो समयदेखि सक्रिय महर्जनलाई चकित तुल्याएको छ विदेशमा फिल्म देखाउन खोज्ने जमातले।

'एक हप्ता अस्ट्रेलियामा फिल्म चल्यो। अहिले नामै नसुनेको देशबाट पनि बारम्बार फोन आउन थालेको छ,' उनी अन्यौल छन्, 'कसलाई फिल्म दिने, कतिमा दिने, पाइरेसी हुने हो कि। हामी तीनै जना रणभुल्लमा छौं।' नेपालमा फिल्म चलाइसकेपछि विदेशी बजारबारे सोच्ने उनले जानकारी दिए।

वितरक आफै निर्माता भएकाले 'लुट'ले कारोबारको ५० प्रतिशत हिस्सा पाउनेछ। नत्र निर्माताको हिस्साबाट १५ प्रतिशत वितरकलाई दिइनुपर्थ्यो। यो हिसाबले 'लुट'का निर्माताको हातमा कम्तीमा ७५ लाख रुपैयाँ परिसकेको देखिन्छ। फिल्ममा निर्देशक निश्चल बस्नेतको ५० प्रतिशत लगानी छ।

क्युएफएक्सका म्यानेजर वसन्त मानन्धरका अनुसार 'लुट'ले 'कागबेनी' र 'सानो संसार'को कारोबारलाई नाघिसकेको छ। 'हिन्दी फिल्म नहेर्ने दर्शकसमेत तानेको छ यसले। फिल्म मात्रै हेर्ने दर्शक धेरै आएका छन्,' दर्शकको चाप बढे पनि त्यसअनुरूप हलको खानेकुरा बिक्री नभएकोमा उनलाई अचम्म लागेको छ।

No comments:

Post a Comment